‘श्रीमानको त्यागको ब्याज’ कहिलेसम्म ?

एक आलोचनात्मक दृष्टिकोणबाट बिद्यादेवी भण्डारीको राजनीतिक यात्राको मूल्याङ्कन :

नेपालको समकालीन राजनीतिक इतिहासमा बिद्या देवी भण्डारी एक विशिष्ट नाम हो । उनी देशको पहिलो महिला राष्ट्रपति मात्र होइनन्, दुई कार्यकालसम्म सर्वोच्च पदमा रहन सफल एक प्रभावशाली महिला नेता पनि हुन् । तर, उनको राजनीतिक यात्रालाई आलोचनात्मक दृष्टिकोणबाट हेर्दा यो केवल नारी सशक्तिकरणको कथा मात्र रहेन । यो सँगसँगै एक “राजनीतिक संरक्षण” र “श्रीमानको छायाँ” मा अघि बढेको लामो अध्याय पनि हो ।

बिद्या देवी भण्डारीको पहिचान मूलतः मदन भण्डारीकी पत्नीको हैसियतमा स्थापित भएको थियो । मदन भण्डारी, नेपाल कम्युनिस्ट आन्दोलनका एक कुशल विचारक, क्रान्तिकारी नेता र जनताको प्रिय व्यक्तित्व थिए । उनको अकालमा भएको मृत्युले देशलाई स्तब्ध बनायो, र ठीक त्यस बखत, बिद्या देवी भण्डारी राजनीतिक मञ्चमा स्थापित हुन थालिन् ।

उनको राजनीतिक उदयलाई कतिपयले ‘त्यागको ब्याज’ भने । अर्थात्, श्रीमानको मृत्युले दिएको सहानुभूति र पार्टीभित्रको सहारा नै उनको प्रगतिको मूल सिँढी बन्यो भन्ने बुझाइ धेरैको छ । यो बुझाइ पूर्ण रूपमा अन्यायपूर्ण नहोला, तर यसले भण्डारीको राजनीतिक दक्षताको प्रश्न पनि उठाउँछ ।

उनी पार्टीभित्रका नेताहरूका निर्णय, रणनीतिमा कहिल्यै अग्रसर रुपमा प्रस्तुत नहुने तर नेतृत्व र अवसरमा अग्रस्थानमा देखिने प्रवृत्ति, सधैंभरी “एमाले-केन्द्रित” रहनु, राष्ट्रपतिको रुपमा तटस्थ भूमिकाको अपेक्षा भए पनि “पार्टी प्रवक्ता” जस्तै व्यवहार गर्नु जस्ता बिषयले उनको स्वतन्त्र हैसियत माथि प्रश्न उठाएका छन् ।

राष्ट्रपति जस्तो संवैधानिक र तटस्थ पदमा रहेर पनि भण्डारीको कार्यशैलीले विवाद उत्पन्न गर्यो । संविधानको धारा ७६ को दुरूपयोग, संसद विघटनको समर्थन, नागरिकता विधेयक जस्तो महत्वपूर्ण विषयमा अनावश्यक अडान राख्नु, अदालतको आदेशको उल्लंघन गर्नुजस्ता कार्यहरूले उनको राष्ट्रपतिको गरिमा घटाएको आलोचकहरू बताउँछन् ।

त्यति मात्र होइन, राष्ट्रपतिबाट अवकाश लिएपछि पनि उनी फेरि एमालेको कार्यक्रममा देखिन थालिन्, पार्टीको समर्थनमा उभिन थालिन् । यस्तो कार्यशैलीले जनतामा एउटा स्पष्ट सन्देश दिन्छ – राष्ट्रपति पद उनीहरूका लागि केवल राजनीतिक लाभ र पदको उच्चतम रूप थियो, जसको माध्यमबाट आफूलाई बचाउने, आफ्नो पक्षधर पार्टीलाई फाइदा पुर्‍याउने र आगामी भविष्यको सम्भावनालाई सुरक्षित गर्ने प्रयास गरियो ।

अब यहाँ प्रश्न उठ्छ – श्रीमानको त्यागको ब्याज कहिलेसम्म लिनु हुन्छ ?

राजनीति सेवा हो, तर जब सेवा अधिकारमा रूपान्तरित हुन्छ, जब पदप्रति मोह त्यागभन्दा ठूलो बन्छ, तब त्यो राजनीति होइन – त्यो अवसरवाद हो । बिद्या देवी भण्डारीले जुन अवसर पाएकी थिइन्, त्यो नेपालको राजनीतिक इतिहासमा महिलाहरूका लागि एक उदाहरणीय मोडल बन्न सक्थ्यो । तर आजको दिनमा त्यो इतिहास एउटा गम्भीर आत्मालोचनाको विषय बन्न पुगेको छ ।

नेपाली राजनीतिमा अहिले पनि पुराना ‘सम्बन्ध र सञ्जाल’ को प्रभावले नयाँ नेताहरूको उदय रोकिएको छ । यदि त्यही परिपाटीलाई निरन्तरता दिने हो भने, योग्य, सक्षम र इमानदार नेताहरू पछाडि धकेलिन्छन ।

राष्ट्रपतिले जुन पद सम्हाल्छन्, त्यो दलमाथिको, राजनीति मुनिको, जनताप्रतिको विश्वासको पद हो । जब त्यो पद आफैं दलको पक्षमा झुकिन्छ, तब जनताले राजनीति र राष्ट्र दुबैप्रति भरोसा गुमाउँछन् । बिद्या देवी भण्डारीले राष्ट्रपतिका रूपमा जनतामा जुन निराशा र वितृष्णा बढाएको छ, त्यो गम्भीर समीक्षा योग्य छ ।

उनी आज एमालेको कार्यक्रममा सहभागी भइरहेकी छिन्, कार्यकर्ताहरूको साथमा उभिएकी छिन्, त्यसले स्पष्ट देखाउँछ – उनले राष्ट्रपतिको जिम्मेवारी दलको पक्षमा उपयोग गरिन् र अब त्यसको फल लिँदैछिन् ।

राजनीतिमा योगदान र कृतज्ञता स्वीकार गर्नुपर्छ । तर त्यो कृतज्ञता कहिलेसम्म चल्ने ? एउटै नाम, एउटै सम्बन्ध र एउटै त्यागको कथा देखाउँदै सधैं सत्ताको वरिपरि घुम्ने प्रवृत्तिले लोकतन्त्रलाई गम्भीर असर पार्दछ ।

अब यो राष्ट्र र आम जनताको लागि प्रश्न बनेको छ – भण्डारीजस्ता नेताहरूको योगदान श्रीमानको मृत्युपछि सुरु भएको थियो वा त्यसकै नाममा आजसम्म टिकाइँदै आएको हो ?

यस्ता प्रश्नहरू गम्भीर छन्, तर सोधिनुपर्छ । किनकि जब राजनीति ‘त्यागको ब्याज’ मा चल्छ, तब जनताको सेवा होइन, केवल आफ्नो हैसियत जोगाउने राजनीति मात्र बाँकी रहन्छ । अबको समय त्यस्तो नेतृत्वको हो, जसले आफ्नो योग्यताबाट उचाइ छोस, न कि कुनै मृत नेता वा सहानुभूतिको भरमा ।

भण्डारीले पक्कै पनि राजनीतिमा समय बिताइन्, योगदान दिइन्, तर त्यो योगदानलाई स्थायी गर्न अब उनी स्वयं पनि प्रश्नहरू सामना गर्न तयार हुनुपर्छ – श्रीमानको इतिहासकै भरमा राजनीतिमा टिकिरहनु कहाँसम्म नैतिक हो ?

कुनै राष्ट्रपतिले दलको झोला बोकेर फेरि राजनीति गर्नु कत्तिको मर्यादित हो ? कुनै समयका ‘त्यागका साक्षी’ आजको दिनमा ‘सत्ता मोह’ का प्रतीक नबनुन भन्ने चाहना सबै नेपालीको हो ।

यसकारण, अब गम्भीर बहस हुनुपर्छ,

श्रीमानको त्यागको ब्याज लिनु उचित थियो भने पनि, त्यो ब्याज कहिले सम्म ? के त्यो ब्याज कहिल्यै नसकिने हो ? र यो प्रश्न केवल भण्डारीप्रति होइन, यसै प्रकारको राजनीतिमा रमाउने, सहानुभूतिको भावनामा राजनीति गर्ने सबै नेताहरूका लागि हो –

जनताको धैर्य कहिले सकिन्छ ? विद्या देवी भण्डारीले राष्ट्रपतिको पदलाई अवसरको रूपमा लिएर, राजनीतिबाट टाढा रहेर, राष्ट्रिय एकताको आवाज बनेर, महिला तथा युवा सशक्तिकरणको नेतृत्व गरेर, संविधान र लोकतन्त्रको संरक्षकजस्तो गरिमामय बाटो समातेको भए उनको छवि सुधारिन्थ्यो, आलोचना हराउँदै सम्मान थपिन्थ्यो।

तर अब पनि ढिलो छैन, राजनीतिमा फर्किनुको सट्टा यदि उनी स्वतन्त्र सामाजिक कार्य र लोकतान्त्रिक मूल्यको संरक्षणमा लागे भने, इतिहासले फेरि उनिप्रति न्याय गर्न सक्छ ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार ०७:३७

प्रतिक्रिया दिनुहोस्