सातौं सिन्धुली महोत्सव: शिवको स्वरमा झुम्यो सिन्धुली

सिन्धुली । सिन्धुलीमाढीमा जारी ‘सातौं सिन्धुली महोत्सव’मा गायक शिव परियारले आइतबार साझ आफ्नो साङ्गितिक प्रस्तुती दिए । चर्चित गायक परियार आउने भनेपछी उल्लेख्य रुपमा उपस्थित रहेका दर्शकलाई शिवले आफ्ना चर्चित गीतमार्फत नचाए, झुमाए । उनले आफ्ना हिट गीतमार्फत करिव सवा एक घण्टा प्रस्तुति दिए ।

‘फूलैफूल दिन्छौं कि’, ‘फेवातालमा साइँली’, ‘पिलायो साथीले’, ‘क्या दामी भो’ देखि ‘धोकेबाज हौ तिमी’, रुपौली रानी सम्मका शिवका झण्डै एक दर्जन गीत प्रस्तुतिमा दर्शक रमाए । उनको प्रस्तुतिमा दर्शकहरु सांगीतिक माहोलमै रमाइरहे ।

शिवको प्रस्तुतिमा दर्शकले हुटिङ गर्नुका साथै नाचेर साथ दिए । शनिबार शिवसँगै गायिका जुनु प्रसाइलगायतको प्रस्तुति रहेको थियो । सिन्धुली उद्योग वाणिज्य संघ र कमलामाइ नगरपालिकाको मुख्य आयोजनामा भएको महोत्सवमा दर्शकको बाक्लो उपस्थित छ ।

‘दर्शकको उपस्थिति देख्दा हामी एकदमै उत्साहित छौं,’उद्योग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन श्रेष्ठले भने, यो महोत्सव पुण्य कर्म गर्ने उदेश्यले आयोजना गरिएको हो ।

सातौं सिन्धुली महोत्सवबाट भएको आम्दानी र नपुगेको रकम सहयोगी संघ संस्था तथा ब्यक्तीसंग सहयोग मागेर बिपन्न नागरिक उपचार कोषमा करिब ५० लाख जम्मा गर्ने पबित्र उदेश्यले यो महोत्सव आयोजना गरिएको हो, अध्यक्ष श्रेष्ठले बताए ।

माघ ९ गतेबाट सुरु भएको ७ औं संस्करणको महोत्सव आगामी १९ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : १३ माघ २०८२, सोमबार ०७:२१

प्रतिक्रिया दिनुहोस्