सिन्धुली – सुमधुर स्वरकी धनी गायिका विष्णु माझीको तिज गीत ‘म त नराउरी’ सार्वजनिक भएको छ । गायिका विष्णु माझीको तिज गीत आएपछी मात्रै तिज लागेको आभास हुने गरेको संगितप्रेमीहरु बताइछन ।
गितले सार्वजनिक भएको तिन घण्टामै युट्युबमा ३४ हजार भन्दा बढी भ्युज पाइसकेको छ । ‘पुतलीको भट्टी’ भाग २१ का रूपमा बजारमा आएको उक्त तिज गीत गायिका बिष्णु माझीका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द तथा संगीत हो ।
गीतले नेपाली समाजमा, विशेषगरी ग्रामीण क्षेत्रमा, एक महिलाको जीवनका विभिन्न पक्ष, उसका सपना, संघर्ष, पीडा र जिम्मेवारीलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ । गीतको सहारामा नेपाली महिलाहरूको त्याग, सहनशीलता र उनीहरूले भोग्नुपरेको यथार्थको चित्रण गरिएको छ । यसैगरी भिडियोले गीतको भावलाई अझ गहिरो पनि बनाएको छ ।
यसले दुई फरक संसारलाई एकैसाथ देखाएको छ । जसमा तिजको रमझम, रातो हरियो सारीमा सजिएका महिलाहरूको नाच, रमाइलो र उत्सवको माहौल देखाइएको छ । यस्तै अर्को वास्तविकताको संसार देखाइएको छ ।
जहाँ गरिबी, श्रीमानको दुर्व्यवहार, गर्भवती अवस्थामा पनि गर्नुपर्ने कठोर परिश्रम र छोराछोरीको भविष्यप्रतिको चिन्ता सजिव ढंगले प्रस्तुत गरिएको छ । गीतले परम्परागत तिज गीतको बहानामा महिलाहरूले वर्षभरि भोग्ने दुःख र पीडालाई समेत उजागर गरेको छ ।
गीतको भिडियोमा गत वर्षकै तिज गीत ‘आइनँ आमा यो तिजमा’ की मोडल ललिता पौडेलको अभिनय छ भने भिडिओमा ६० जना कोरस डान्सर राखिएको छ । गितलाइ सपना म्युजिक इन्ड्रस्टिजले बजारमा ल्याएको हो ।









