सिन्धुलीको मधुगङ्गा मन्दिरमा दर्शन गर्न आएका एक पुरूषको हत्या

सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिका–२ लामीडाँडास्थित मधुगङ्गा महादेव मन्दिरमा सोमबार एक जना पुरूषको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी लालध्वज सुवेदीका अनुसार मृतकको पहिचान खुलेको छ । मृतक भारतको सितामडी भवदेपुर–११ का पं‌कजकुमार भगत हुन् । 

शव परीक्षणपछि परिवारको जिम्मा लगाउने तयारी भइरहेको एसपी सुवेदीले बताए । मृतकका माइला दाजु रञ्जित भगतले सिन्धुली अस्पतालमा आएर शवको सनाखत गरेका हुन् । सोमबार बिहान उक्त स्थानमा शव फेला परेको थियो ।

प्रारम्भिक अनुसन्धानमा मृतकको छातीमा धारिलो हतियार प्रहार भएको देखिएको एसपी सुवेदीले बताए । घटनास्थलबाट प्रहरीले चुप्पी र खुर्पा बरामद गरेको छ ।

प्रहरीका अनुसार पंकजकुमार साथीहरूसँग मधुगङ्गा महादेवको दर्शन गर्न आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीसँगै आएका सबैजना फरार रहेका र घटनामा संलग्नलाई चाँडै पक्राउ गरिने एसपी सुवेदीले बताए ।

प्रकाशित मिति : ७ श्रावण २०८२, मंगलवार ०९:२०

प्रतिक्रिया दिनुहोस्