सिन्धुली – सिन्धुलीको सुनकोशी गाउँपालिकामा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–६ शीतलपाटीस्थित बीपी राजमार्गमा मध्यरातमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा मकवानपुर मनहरि गाउँपालिका–४ निवासी धर्मराज रेग्मीको मृत्यु भएको हो भने उनका भाइ नीरज रेग्मी गम्भीर घाइते भएका छन् ।
काठमाडौँबाट बर्दिबासतर्फ आउँदै गरेको बा. प्र. ०१–०२४ च ९९१३ नम्बरको योद्धा पिकअप राति करिब साँढे बाह्र बजे सडकबाट ५०० मिटर तल खोँचमा खसेको थियो । दुर्घटनापछि गम्भीर घाइते धर्मराज रेग्मीलाई उद्धार गरी सुनकोशी सामुदायिक अस्पताल खुर्कोट पुर्याइए पनि बिहान २:४५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्य प्रकाश सुवेदीले जानकारी दिए ।
दुर्घटनामा परेका चालक समेत रहेका उनका भाइ नीरज रेग्मीलाई भने थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको छ ।









