जिल्लामै पहिलो अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न

सिन्धुली – प्याब्सन सिन्धुलीद्वारा आयोजित जिल्लामै पहिलोपटक आयोजना गरिएको “प्रथम अन्तरविद्यालय बुद्धिचाल –२०८२” शुक्रबार सिन्धुली एकेडेमी मिलनचोकमा सम्पन्न भएको छ ।

प्रतियोगितामा जिल्लाका १५ वटा विद्यालयका २८ जना विद्यार्थीको सहभागिता रहेको थियो । सहभागीमध्ये एक छात्रा रासी मगर (माइस्थान इङ्लिस बोर्डिङ स्कुल) तथा श्री नवज्योति बहिरा विद्यालयबाट बिनोद थामी र रुपक लामा गरी दुई जना बधिर छात्रसमेत प्रतियोगितामा सहभागी थिए । यसले प्रतियोगितालाई अझै समावेशी र प्रेरणादायी बनाउन सहयोग गरेको सहभागीहरुको बुझाइ छ ।

प्ररियोगितामा अन्तर विद्यालयतर्फ जनज्योति माध्यमिक विद्यालय फोस्रेटारका सनल राज ढकाल र हिमाल बल प्रथम भए भने गौमती माध्यमिक विद्यालयका निराकार सिग्देल र उत्सव भुजेलले द्वितीय स्थान हासिल गरे । त्यस्तै प्रतियोगिताको तृतिय स्थान सिन्धुली एकेडेमीका गगन अधिकारी र प्रलाद अधिकारीले हासिल गरे ।

नेपाल बुद्धिचाल महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र खाइजुको निर्णायक भुमिकामा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताका विजेतालाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो भने बाँकी सहभागी विद्यालय तथा विद्यार्थीलाई समेत सहभागी प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

आयोजकले चेस प्रतियोगिता गर्नुको उद्देश्यबारे उल्लेख गर्दै यसले विद्यार्थीहरूमा धैर्य, योजना, रणनीति निर्माण क्षमता, बौद्धिक विकास र स्वस्थ प्रतिस्पर्धा गर्ने संस्कार विकास गर्ने विश्वास व्यक्त गरेको छ । साथै, विद्यालयबीच आपसी सम्बन्ध मजबुत गर्ने र भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन प्रेरणा दिने उदेश्य आयोजकले राखेको छ ।

प्रतियोगिता युरोपियन युनियनको सह–वित्तीय सहयोगमा न्यु स्टेप र सिन्धुली एकेडेमीको सहकार्यमा सम्पन्न भएको हो । आयोजक संस्थाले यसलाई आगामी दिनहरुमा जिल्लास्तर र प्रदेशस्तरमा समेत विस्तार गर्ने योजना अघि सारेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार ०६:१०

प्रतिक्रिया दिनुहोस्