सिन्धुली – भदौ २३ र २४ को जेन–जी आन्दोलन । २३ भदौको बिहान शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शन दिउँसोदेखि हिंसात्मक बन्यो । २४ भदौमा देशभरिका सरकारी कार्यालयहरू र प्रमुख दलका प्रमुख नेताहरूको निजी सम्पत्तिमा आगजनी सुरु भयो । प्रदर्शनका क्रममा देशभरबाट ७४ जनाले ज्यान गुमाए भने सरकारी र निजी सम्पत्तिमा आगजनी र लुटपाट हुँदा ठूलो क्षति भयो ।
राजधानी लगायत अन्य जिल्लामा जस्तै सिन्धुलीको सदरमुकाम मानिने सिन्धुलीमाढीको लोकतान्त्रिक चौकमा पनि २३ भदौको बिहान केहि जेन–जी युवाहरु हातमा प्लेकार्ड बोकेर जम्मा भए । भ्रष्टाचार अन्त्य गर, शुसासन कायम गर, गृहमन्त्री राजिनामा दे लगायतका प्लेकार्ड बोकेर लोकतान्त्रिक चौकमा भेला भएका सिमित जेन–जी प्रदर्शनकारीहरु औपचारिकता पूरा गर्न मात्रै भेला भएका देखिन्थे ।
दोस्रो दिन भदौ २४ मा बिहान करिब ८ बजे लोकतान्त्रिक चौकमा जम्मा हुन थालेका जेन–जी प्रदर्शनकारीहरु शान्तिपुर्ण तबरले नै आन्दोलन गर्न भेला भइरहेका देखिन्थे । जब राजधानीमा प्रदर्शनको क्रममा रहेका जेन–जी युवाहरुलाई गोलि हानी हत्या गरियो त्यसपछी सिन्धुलीमा पनि प्रदर्शनकारीले आन्दोलन चर्काए ।
लोकतान्त्रिक चौकमा नाराबाजी गरिरहेका जेन–जी प्रदर्शनकारीहरुले त्यसपछी लोकतान्त्रिक चौक, शान्तिनगर चौक, हस्पिटल चौकमा सवारी साधन अबरोध गर्ने, बिरोध प्रदर्शन स्वरुप मुख्य चौकमा टायर बाल्ने र जिल्ला प्रशासन कार्यालय अघि नाराबाजी गर्ने लगायत कार्यक्रम गरिरहेका थिए ।
प्रदर्शन स्वरुप जिल्ला प्रशासन कार्यालय अघि शान्तीपुर्ण नाराबाजी गरिरहेका प्रदर्शनकारी बिचमा अर्को एउटा अनौठो दृष्य देखियो । जेन–जी आन्दोलनको नेतृत्वदायी भुमिकामा रहेका पारस बराल, समीर बिक्रम थापा लगाएतको नेतृत्वमा भइरहेको प्रदर्शनमा जेन–जी समूह भन्दा बाहेकको समूह पनि उक्त प्रदर्शनमा सक्रिय देखिन्थ्यो ।
समीर बिक्रम थापाले माइकको प्रयोगमा नारा लगाइरहेको समयमा जेन–जी समूह भन्दा बाहेकको समूहका रोशन लामाले माइक थापाको हातबाट खोसे । हातबाट माइक खोसेर लामाले हाम्रो आन्दोलन यहाँ सिडियो कार्यालय अघि नाराबाजी मात्रै गर्ने नभएर पार्टी कार्यालय अघि गएर प्रदर्शन गर्नुपर्ने उद्घोष गरे ।
पहिला यहि नजिकैको नेपाली काङ्ग्रेसको पार्टी कार्यालय जाउ त्यसपछि अरुमा जाउ भनेर त्यहा प्रदर्शनमा रहेका प्रदर्शनकारीलाई बिभाजन गरेर केही ७/८ जना प्रदर्शनकारी लिएर लामा नेपाली काङ्ग्रेसको पार्टी कार्यालय तिर लागे । यसरी उनी लागेपछी वास्तविक जेन–जी समूहले आफ्नोहरुको उदेश्य कुनै पार्टी, दल सङ्ग सम्बन्धित नभएर भ्रष्टाचार अन्त्य, सुशासन, लगायतमा केन्द्रित भएकोले सडक प्रदर्शन गर्ने भन्दै पुनः प्रशासन कार्यालय अघि नै नाराबाजीमा लाग्यो ।
निरन्तर प्रदर्शनमा रहेको जेन–जी प्रधानमन्त्रीको राजिनामा पछि बार्ताको माध्यमबाट समाधानमा पुग्नुपर्ने र प्रदर्शन रोक्नुपर्ने निचोडमा थियो । जेन–जीको अपेक्षा बमोजिम अघिल्लो दिन नै गृहमन्त्रीले राजिनामा दिइसकेका थिए भने प्रदर्शनको क्रममा पछिल्लो दिन दिउँसो प्रधानमन्त्री केपि शर्मा ओलिले समेत राजिनामा दिए ।
प्रधानमन्त्रीको राजिनामा पछि प्रदर्शन भड्किलो नहोस भनेर प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सुरक्षा संयन्त्र र जेन–जी प्रतिनिधीको सहभागितामा प्रमुख जिल्ला अधिकारिको कार्यकक्षमा छलफल शुरु भयो । उक्त छलफलको प्रत्यक्ष प्रशारण रोशन लामाले आफ्नो फेसबुक पेजबाट लाइभ गरिरहेका थिए । जेन–जीका प्रतिनिधि संगको छलफलमा उनी किन र कसरी सहभागी भए हुनु पर्थ्यो या पर्दैनथ्यो त्यो सोचनिय प्रसङ्ग रहला नै ।
कार्यकक्षमा छलफल चलिरहेकै बेला बाहिरबाट केही समुहले जिल्ला प्रशासनमा ढुंगामुडा गर्न शुरु गरिसकेका थिए । यो बिचमा प्रमुख जिल्ला अधिकारीलाई निश्चित समय सम्म पर्खिन्छौ भन्ने जस्ता धम्की फेसबुक लाइभमै प्रश्ट सुन्न र देख्न सकिन्छ । ढुंगामुढा हुन थालेपछी प्रमुख जिल्ला अधिकारी सहित सम्पुर्ण सुरक्षा संयन्त्रले तपाइँहरु जे गर्नुस गर्नुस हामी निस्किदिन्छौ भनेपछी बार्तामा गएको जेन–जी प्रतिनिधि र रोशन लामा कार्यालय बाट बाहिरिए ।

ढुंगामुढा गर्ने, सरकारी संरचनामा आगजनी गर्ने, तोडफोड गर्ने, पार्टी कार्यालयहरु जलाउने, निजि सम्पतीमा आगो लगाउने, लुटपाट गर्नेमा कुन समुह थियो, को-कस्ता ब्यक्ती सरिक थिए निश्चित रुपमा छानबिन हुँदै जाला, हुनुपर्छ । कानुनी राज्यको महसुस आम नागरिकले गर्न पाउनुपर्छ, हुनुपर्छ । निश्पक्ष छानबिन र कानुनी उपचारमा सुरक्षा संयन्त्र लाग्नुपर्छ, लागोस !









