बिपन्न परिवारलाई सिन्धुली समाज अमेरिकाको आर्थिक सहयोग

सिन्धुलीको दुधौली नगरपालिका–३ कालापानी निवासी दिपा भुजेललाई सिन्धुली समाज अमेरिकाले एक लाख २१ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । सहयोग रकम बुधबार पत्रकार राधिका बुढाथोकीले भुजेलको घरमै पुगेर हस्तान्तरण गर्नुभएको हो ।

भुजेलका पति क्यान्सरका कारण दुई वर्षअघि उपचारका क्रममा निधन भएपछि परिवार आर्थिक तथा मानसिक समस्यामा परेको थियो । पतिको उपचारमा भएको खर्चले आफूसँग रहेको जायजेथा सकिएपछि काखको सन्तान सहित उहाँ कठिन जीवनयापन गर्न बाध्य हुनुभएको छ ।

सिन्धुली घर भई केही वर्षदेखि रोजगारीको शिलशिलामा अमेरिकामा रहेका विभिन्न सहयोगी हातबाट संकलित रकम भुजेललाई प्रदान गरिएको हो । पारू र उत्पल खड्काले १०१ अमेरिकी डलर, नविन भुजेलले १०१ डलर, सिपी पौडेलले १५१ डलर, राजेन्द्र सुनुवारले २०१ डलर, प्रकाश आचार्यले १५१ डलर, तोयानाथ भण्डारीले ५० डलर, अर्जुन काफ्लेले ५१ डलर तथा नाम नखुलाउने सर्तमा एक जनाबाट ५० डलर सहयोग प्राप्त भएको थियो ।

यसरी जम्मा ८५६ अमेरिकी डलर संकलन भएको थियो । सोही रकम नेपाली रुपैयाँमा रूपान्तरण गरेर प्रदान गरिएको हो । सहयोग रकमले निर्माणधिन अवस्थामा रहेको घर पूरा गर्ने भुजेलले बताउनुभयो ।

उहाँले सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै यस्ता मानवीय सहयोगले पीडित परिवारलाई नयाँ आशा र हौसला मिल्ने बताउनुभयो । सिन्धुली समाज अमेरिकाले विपन्न, पीडित तथा आर्थिक रूपमा कमजोर परिवारलाई लक्षित गरी यस्ता मानवीय सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : २ पुष २०८२, बुधबार १४:५३

प्रतिक्रिया दिनुहोस्