६५ औं प्रहरी दिवसमा बागमती प्रदेशका तीन प्रहरी पुरस्कृत

हेटौंडा । प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा भएको ६५ औं प्रहरी दिवसमा आयोजित कार्यक्रममा बागमती प्रदेशअन्तर्गत कार्यरत उत्कृष्ट कार्य गर्ने प्रहरीलाई प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।

बागमती प्रदेशको उत्कृष्ट प्रहरी कार्यतर्फको पुरस्कार इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीमा कार्यरत प्रहरी निरीक्षक शान्ता वाइबालाई र उत्कृष्ट ट्राफिक व्यबस्थापनतर्फको पुरस्कार जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेलाई प्रदान गरिएको छ ।

यस्तै विपद् उद्धारकतर्फको पुरस्कार इलाका प्रहरी कार्यालय मेलम्ची, सिन्धुपाल्चोकमा कार्यरत प्रहरी जवान गंगा केसीलाई प्रदान गरिएको छ । समुदाय–प्रहरी साझेदारी अन्तर्गत नेपाल प्रहरीसँगको समन्वयमा उत्कृष्ट भूमिका निर्वाह गर्ने हेटौंडा उप-महानगरपालिकालाई कदर-पत्र प्रदान गरिएको थियो ।

प्रहरीलाई निःशुल्क जग्गा प्रदान गर्ने मकवानपुरको कैलाश गाउँपालिकाका बमबहादुर स्यांतानलाई कदरपत्र प्रदान गरिएको थियो भने पूर्वप्रहरी नायब निरीक्षक विश्व आलेलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

वर्तमान संक्रमण जोखिममा आमनागरिकलाई पुर्‍याएको सेवाको उच्च मूल्यांकन गर्दै जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंलाई प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रम प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाको सभाध्यक्षतामा भएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संगठित एवम् जघन्य अपराध, महिला तथा बालबालिकामाथि हुने अमानवीय कार्यप्रति शून्य सहनशीलता अपनाउनु जरुरी रहेको भन्दै सोहीअनुसार अगाडि बढ्न प्रहरीलाई सुझाएका छन ।

मुख्यमन्त्री पौडेलले पछिल्लो समय महिला तथा बालबालिकामाथि भइरहेका दुव्र्यवहार, हिंसा तथा बलात्कारका घटनालाई गम्भीरतापूर्वक लिँदै अपराधीलाई कानुनी कठघरामा ल्याउन सशक्तढंगबाट प्रस्तुत हुनुपर्ने बताए । उनले व्याबसायिकता, अनुशासन, इमान्दारिता तथा कर्तव्यपरायणता नेपाल प्रहरीको पहिचान हो । यसबाट प्रहरीले आफूप्रति तेर्सिएका प्रश्नको जवाफ दिन सक्दछ,’ उनले भने ।

यस्तै उक्त समारोहमा उनले अपराध नियन्त्रण र अनुसन्धानबाट समाजमा शान्ति, अमनचयन र सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार १३:०७

प्रतिक्रिया दिनुहोस्