सुशीला बम्जन हत्या प्रकरण: कमलामाईका केही क्षेत्रमा कर्फ्यू

सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ४ का केही स्थानमा कर्फ्यू जारी भएको छ । धुरा बजारमा भएको घटनापछि उत्पन्न अवस्था नियन्त्रणमा लिनको लागी जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कर्फ्यू आदेश जारी गरेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले पुस १० गते बेलुका साढे आठ बजेदेखि बिहान ६ः०० बजेसम्मका लागि कर्फ्यू लागू गरिएको बिज्ञप्ति मार्फत उल्लेख छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू जारी गरिएको पनि उनले बताएका छन् । कमलामाई नगरपालिका–४ अन्तर्गत पूर्वमा ग्वाङ खोला, पश्चिममा मदन भण्डारी राजमार्ग, उत्तरमा कुमल फाँट र दक्षिणमा धुरा बजार चोकसम्मको क्षेत्रमा कर्फ्यू लागू गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठका अनुसार स्थानीयवासीबाट ढुंगामुढा प्रहार, हुलदंगा तथा अन्य अवाञ्छित गतिविधि देखिन थालेपछि जिल्लाको शान्ति सुरक्षामा खलल पुग्ने अवस्था सिर्जना भएको निष्कर्षसहित कर्फ्यू आदेश जारी गरिएको हो ।

यस अवधिमा अत्यावश्यक सेवाबाहेक सर्वसाधारण तथा सवारी साधन आवतजावत, कुनै पनि किसिमका भेला, जुलुस तथा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

धुराफाँटकी ३२ वर्षीया सुशीला घिसिङको आगजनी गरी हत्या गरेको आरोपमा उनकी सासू ५९ वर्षीया मायारानी बम्जन र नन्द ३५ वर्षीया मिना बमजन पक्राउ परेका छन् । मृतकका माइती पक्षले ६५ वर्षीय ससुरा दुर्गामान बम्जन विरूद्ध पनि किटानी जाहेरी दिएका छन् ।

सुशीलाको शव पेट्रोल छर्केर आगजनी गरेको अवस्थामा भेटिएको थियो । स्थानीयले मृतक परिवारलाई न्याय दिनुपर्ने र अपराधीलाई कारबाही गर्नुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीको गेट अगाडि नाराबाजी समेत गरिरहेका छन ।

प्रकाशित मिति : १० पुष २०८२, बिहीबार १६:३४

प्रतिक्रिया दिनुहोस्