९ साउन, काठमाडौं । गत बुधबार राष्ट्रपतिको सचिवालयका स्वकीय उपसचिव हिरामणि आचार्यको फोन आयो, ‘शुक्रबार दिउँसो २ बजे मूलधारका १८/२० जना सम्पादकज्यूहरुसँग सम्मानीय राष्ट्रपतिज्यूले चिया खाँदै भेटघाट गर्ने कार्यक्रम बनेको छ ।’
राष्ट्रपतिले यसरी सम्पादकहरुलाई बोलाइसकेपछि त्यहाँ पक्कै पनि राष्ट्रका मूलभूत समस्याहरुबारे गम्भीर कुराकानी हुन्छ र राष्ट्राध्यक्षका विचार एवं अनुभूतिहरु आम पाठकसमक्ष पस्कन पाइन्छ भनेर एकजना पत्रकारले ठान्नु अस्वाभाविक थिएन ।
यही अपेक्षाका साथ राष्ट्रपतिका भनाइहरु नोट गर्ने डायरीसमेत बोकेर शुक्रबार दिउँसो ठीक दुई बजे राष्ट्रपति निवासमा पुगियो । र, करिब २ घण्टा बिताएर फर्किइयो । त्यहाँ ३० जना सञ्चारकर्मीहरुको उपस्थिति थियो ।
राष्ट्रपतिसँग दुईघण्टासम्म के-कस्ता कुरा भए भन्नेबारे अहिले सर्वत्र चासो छ । धेरै ठाउँबाट फोनमार्फत सोधनी भइरहेका छन् । राजनीतिकवृत्तमा समेत चासो बढेको छ कि राष्ट्रपति र यति धेरै सम्पादकवीच के-कस्ता कुराकानीहरु भएछन् ?
तर, जटिलता यस्तो पर्यो कि शुक्रबारको छलफलमा राष्ट्रपतिले भनेका कुराहरु पत्रकारको नैतिकताले बताउन दिएन । त्यहाँ भएको कुरालाई राष्ट्रपतिले नै ‘अफ द रेकर्ड’ भनिसकेपछि पत्रकारले त्यसलाई समाचार बनाउनु पत्रकारको आचारसंहिता विपरीत हुन जान्छ ।
कसैले सार्वजनिक समारोहमा बाहेक भित्री छलफलमा बोलेको कुरालाई वक्ता आफैंले ‘अफ द रेकर्ड’ भनिसकेपछि त्यसबारेमा प्रकाशन/प्रसारण गर्नु पत्रकारको नैतिकताले दिँदैन । त्यसैले, दुईघण्टा लामो बसाइमा राष्ट्रपति विद्यादेवी भण्डारीले भनेका कुराहरु यहाँ प्रकाश गर्न मिलेन ।
शीतलनिवासको छलफल सकिइसकेपछि राष्ट्रपतिको समेत अनुरोधमा स-साना ग्रुपहरु बनाएर सामुहिक तस्वीरहरु खिचिए । ती तस्वीरहरु सामाजिक सञ्जालमा पोस्ट गर्नका लागि छेकबार थिएन । त्यसैले, भेटघाट सकिनासाथ तस्वीरहरु सामाजिक सञ्जालमा आए ।
बरिष्ठ सम्पादक तीर्थ कोइरालाले फेसबुकमा लेखेको स्टाटस यस्तो छ- ‘राष्ट्रपतिसँग ३० जना सम्पादकको २ घण्टा विचार विनिमय भयो । अन्त्यमा उहाँले सबैकुरा ‘अफ द रेकर्ड’ भनेपछि टिपोट गोजीमा हालियो । खाजा खाइयो, पालैपालो तस्वीर खिचियो, फेरि मास्क लगाइयो र आइयो । यतिचाहिँ भनौं- राष्ट्रपतिज्यू अहिलेसम्म आफूले गरेका र सरकारका कामबाट सन्तुष्ट रहेको पाइयो ।’
त्यसैगरी माइसंसार डटकमका उमेश श्रेष्ठले फेसबुकमा लेखे, ‘शीतलनिवासमा राष्ट्रपतिको सम्पादकहरुसित अहिले दुई घण्टा लामो अन्तरक्रिया भयो । लास्टमा सप्पै कुरा अफ दि रेकर्ड भनिएपछि लेख्ने कुरो भएन । निम्तो नपुग्या हो कि ट्राफिक जाममा फसेर आउन नभ्याएका हुन्, थाहा भएन । तर, नयाँ पत्रिका र हिमालका सम्पादक देखिनँ ।’
यसरी सामाजिक सञ्जालबाट आम पाठकहरुलाई थाहा भयो कि शुक्रबार शीतलनिवासमा ३० जना सम्पादकहरु र राष्ट्रपतिवीच दुईघण्टा लामो भेटवार्ता भएछ । र, राष्ट्रपतिसँगको भेट ‘अफ द रेकर्ड’ भनिएकाले त्यसबारे समाचार लेख्नचाहिँ नमिल्ने रहेछ ।
आखिर राष्ट्रपति र सम्पादकहरुवीच के-कस्ता विषयमा कुराकानी भयो त ? अघि नै भनिसकियो कि यसबारे बताउन पत्रकार आचार संहिताले दिएन । त्यसैले, यहाँ अरु नै ‘मार्जिन’ का कुराहरु गरौं-
पत्रकारहरु जनतासमक्ष सूचना/समाचारहरु पस्कने माध्यम हुन् । देशको वर्तमान अवस्थाबारे राष्ट्राध्यक्षको सोच के-कस्तो होला भन्नेबारे आम जनतामा चासो हुनु स्वाभाविकै हो । यो स्थितिमा देशका ३० जना सम्पादकहरुले राष्ट्रपतिसँग भेट गरेपछि पक्कै पनि शीतलनिवासको खबर सुन्न पाइन्छ कि भन्ने जनअपेक्षा नाजायज होइन ।
विगत राजा-महाराजाका पालामा नारायणहिटीको चौपर्खालभित्र एउटा यस्तो रहस्यको पोको थियो, जहाँको सूचना बाहिर आउन मुस्किल हुन्थ्यो । गणतन्त्र आइसकेपछि त्यो अपारदर्शिता र रहस्यको पर्खाल भत्कन्छ र जनताले सहजरुपमै सुन्न, देख्न र भेट्न सक्ने राष्ट्राध्यक्ष पाउनेछन् भन्ने जनअपेक्षालाई पनि अस्वाभिक मान्न सकिँदैन । र, यस्तो बेलामा आम सञ्चारमाध्यमहरु जनता र राष्ट्राध्यक्षको वीचमा पुल बन्लान् भन्ने अपेक्षालाई पनि अस्वाभाविक मान्न मिल्दैन ।
विभिन्न क्षेत्रका नागरिकसँग भेटघाट गरेर देशमा के भइरहेको छ भन्ने यथार्थ सूचना लिन राष्ट्रको अभिभावकलाई केहीले छेक्दैन । यसअघि राष्ट्रपति कार्यालयले सञ्चार माध्यमसँग यसरी अन्तरक्रिया गरेको थिएन, जुन अन्तरक्रिया शुक्रबार छोटैै रुपमा भए पनि भयो । राष्ट्रपतिले आफूलाई अन्तरक्रियात्मक बनाउन खोज्नु, बाहिरका कुराहरु सुन्नु र आफ्ना अनुभवहरु सेयर गर्नु सकारात्मक थालनी नै हो ।
तथापि, राष्ट्रपति भण्डारीले आफ्ना कुराहरु ३० जना सम्पादकलाई मात्रै नसुनाएर मिडियाको माध्यमबाट जनसमक्ष लैजान दिएको भए राम्रो हुथ्यो । त्यसो गरिएको भए राष्ट्रपतिको भावना जनतामा पुग्ने थियो र यस संस्थाबारे उठेका कतिपय प्रश्नहरुको जवाफ जनताले प्रत्यक्षरुपमा पाउने थिए । यसले शीतलनिवास र जनतावीचको दुरी कम गर्न मद्दत नै पुर्याउने थियो । तर, शुक्रबार छलफलको अन्त्यमा राष्ट्रपतिले ‘अफ द रेकर्ड’ भन्दिएपछि खेलो खत्तम भयो ।
कसैले स्वीकारोस् वा नस्वीकारोस्, पछिल्लो समय शीतलनिवासमाथि आम जनमानसमा विभिन्न प्रश्न उठेकै छन् । जनताले राजामाथि त प्रश्न उठाए भने राष्ट्रपतिमाथि प्रश्न गर्नै पाइन्न भन्न सकिँदैन, जनताले प्रश्न उठाउने हक राख्छन् । तर, यी प्रश्नहरुको जवाफ राष्ट्रपतिले कसरी दिने ? प्रेस विज्ञप्ति जारी गर्ने कि ? प्रधानमन्त्रीले झैं कुनै सार्वजनिक मञ्चमा भाषण गरेर जवाफ दिने कि ? सामाजिक सञ्जालबाट दिने कि ? मिडियामा अन्तरवार्ता दिने कि ? सरकारमार्फत खण्डन-मण्डन गर्ने कि ? आफूसित भेट गर्न आएकाहरुलाई मात्रै यसबारे स्पष्ट पार्दै जाने हो कि ? वा, जति नै प्रश्नहरु उठे पनि राष्ट्रपति कार्यालय चुप लागेर बस्ने ? सम्भवतः यी प्रश्नहरुको निरुपण गर्ने मामिलामा हाम्रो राष्ट्रपति कार्यालय अझै अनुभवले पाक्न बाँकी नै छ ।
जस्तो- दोहोरी गायिका एवं हास्य कलाकार बबिता बानियाँ, जेरीले यस वर्षको गाईजात्रे कोसेली ‘जेरी वाचन-५’ मा राष्ट्रपतिलाई समेत व्यंग्यवाण प्रहार गर्दै कोरोना महामारीका बेला कार्पेट फेरेको चर्चा यसरी गरेकी छिन् –
देशको नेता भएपछि जनता हेर्नुपर्ने,
कोहीलाई फेरि यहीबेलामा कार्पेट फेर्नुपर्ने !
यसरी लोकगायिकाले युट्युब भिडियोमा उठाएको प्रश्नको जवाफ दिने तरिका शीतलनिवाससँग के छ ? लोकतन्त्र हो, पञ्चायतकालमा जसरी भिडियोमाथि नै प्रतिबन्ध लगाउन पनि मिलेन । हो, यसरी आम जनमानसमा उठ्ने प्रश्नहरुको जवाफ शीतलनिवासले कसरी दिन्छ ? यस्ता प्रश्नहरुको हल खोज्ने विधिबारे अहिलेसम्म शीतलनिवासले कुनै गृहकार्य गरेको देखिएन ।
राष्ट्रपतिको गाडी खरीदसम्बन्धी विषय, हेलिकोप्टर खरीदको चर्चा इत्यादि सन्दर्भमा पनि यही कुरा सत्य हो । नेकपाका नेताहरुसँगको बारबारको बैठकसम्बन्धी उठेका प्रश्नको सन्दर्भमा यही नै हो । जनतासम्म पुग्ने ‘भेन्टिलेसन’ शीतलनिवासमा जरुरी देखिएको छ । शुक्रबारको दुई घण्टा लामो भेटपछि त झनै यसको अभाव महसुस भयो ।
अन्त्यमा, एकजना सञ्चारकर्मी हुनुको नाताले सबैभन्दा ठूलो पीडा नै यही भयो कि राष्ट्रप्रमुखसँग दुई घण्टासम्म ३० जना सम्पादकहरुको छलफल भयो । तर, सबै अफ द रेकर्ड ! जनतालाई केही पनि बताउन नमिल्ने गरी ।