सिद्धस्थलीको तीज उपहार : ‘मम्स डान्स च्याम्पियनसिप’

सिन्धुली — हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर सिद्धस्थली इङ्लिस बोर्डिङ हाई स्कुलले अभिभावक आमाहरूलाई लक्षित गर्दै ‘मम्स डान्स च्याम्पियनसिप’ (आमा नृत्य प्रतियोगिता) आयोजना गर्ने भएको छ ।

तीज केवल नाचगान र मनोरञ्जनको पर्व मात्र नभई संस्कृति, संस्कार, आत्मीयता र अभिभावक आमाहरूको सम्मानसँग जोडिएको पर्व भएकाले विद्यालयले आमाहरूलाई विद्यालयको मञ्चमा स्वागत गरी उहाँहरूको प्रतिभा, उत्साह र योगदानलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।

विद्यालयका अनुसार प्रतियोगिता भदौ २१ गते आइतबार बिहान ११ बजे विद्यालयको हलमा आयोजना हुनेछ । प्रतियोगितामा सहभागी हुन इच्छुक अभिभावक आमाहरूले समयमै विद्यालयमा उपस्थित भई आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।

प्रतियोगितामा प्रथम हुनेलाई ट्रफीसहित १० हजार रुपैयाँ, प्रथम रनरअपलाई ७ हजार, द्वितीय रनरअपलाई ५ हजार र तृतीय रनरअपलाई ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

साथै विद्यालयले प्रतियोगितामा सहभागी सम्पूर्ण आमाहरूको उत्साह र प्रतिभालाई सम्मान गर्दै तीजको सांस्कृतिक पक्षलाई विद्यालयस्तरमा थप जीवन्त बनाउने अपेक्षा गरेको छ ।

विद्यालयले कार्यक्रममा सहभागी अभिभावक तथा आमाहरूका लागि उक्त अबसरमा सामुहिक ‘दर खाने’ कार्यक्रमसमेत आयोजना गरेको जनाएको छ ।

विद्यालयका प्रीन्सिपल ओम प्रधानले भन्नुभयो, “आमा मुस्कुराउँदा परिवार खुसी हुन्छ, आमा रमाउँदा विद्यालय पनि रमाउँछ ।” तीजको अवसरमा आयोजना गरिएको यस कार्यक्रमले अभिभावक, विद्यार्थी र विद्यालयबीचको आत्मीय सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास लिएका छौ ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार १६:०३

प्रतिक्रिया दिनुहोस्