दुर्लभ बन्यजन्तु निलगाई सिन्धुलिमा मृत फेला

सिन्धुली : सिन्धुलीमा बुधबार दुर्लभ मानिएको निल गाई मृत अवस्था फेला परेको छ। कमलामाई नगरपालिका -१४ रानीवासमा बयस्क निल गाई मृत अवस्था भेटीएको डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख नारायण श्रेष्ठले जानकारी दिए ।

मुखबाट रगत बगेको अवस्थामा मृत भेटिएको निल गाईको कसैले सिकार गरेको हो कि भन्ने समेत आशंका गरिएको प्रमुख श्रेष्ठले बताए । संरक्षित वन्यजन्तुको रुपमा लिइने निल गाई मृत भेटिएपछि पोष्टमार्टम गर्ने तयारी गरिएको समेत श्रेष्ठले जनाएका छन् ।

पशु सेवा कार्यालय सिन्धुलीका चिकित्सकले भने सरुवा रोगका कारण निलगाईको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको श्रेष्ठले जानकारी दिए । 

त्यस क्षेत्रमा यस अघि पनि निलगाईको चोरी सिकारी हुने गरेको बताइन्छ । डिभिजन प्रमुख श्रेष्ठका अनुसार वन्यजन्तु चोरीसिकारी गरेको प्रमाणित भए वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कारबाही हुनेछ ।

कसैको कसुर प्रमाणित भए ६ महिनादेखि १५ वर्षसम्म कैद र १० हजारदेखि १० लाखसम्म जरिवाना हुने वन्यजन्तु संरक्षण ऐन २०२९ मा व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार १७:५३

प्रतिक्रिया दिनुहोस्