नियती: आर्थिक अभावले उपचार नपाएका कोरोना संक्रमितको शव व्यवस्थापनमा समेत अवरोध

२० कात्तिक, सिन्धुली । सिन्धुलीमा एक कोरोना संक्रमितको आर्थिक अभावमा उपचार नपाएर मृत्यु भएको छ । मृत्युपछि शव व्यवस्थापनमा समेत स्थानीयले अवरोध गरेका छन् । कमलामाई नगरपालिका–५ जरायोटारका ४८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट बिहीबार मृत्यु भएको हो ।

दसैंको टीकाको भोलिपल्ट कात्तिक ११ गते संक्रमित पुरूष अचानक घरमै लड्न पुगेका थिए । आफन्तका अनुसार उनलाई कात्तिक १६ गते अर्धचेत अवस्थामा काठमाडौं पुर्‍याएर केएमसी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भएको भोलिपल्ट उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आयो ।

चिकित्सकले उनलाई भेन्टिलेटरमा राखेर उपचार गराउनु पर्ने सुझाव दिए । यसका लागि दैनिक करिब ४५ हजार रुपैयाँ खर्च हुने चिकित्सकले बताए । तर यतिधेरै खर्चेर उपचार गराउन नसक्ने भएपछि आफन्तले पुनः सिन्धुली फर्काएर जिल्ला अस्पताल सिन्धुलीमा भर्ना गरे ।

काठमाडौंमा भेन्टिलेटरमा राखेर उपचार गराउन आर्थिक अभाव भएकै कारण सिन्धुली फर्काउनु परेको उनको आफन्तले बताए । ‘बचाउन सकिन्छ कि भनेर काठमाडौंसम्म पुर्‍याएका थियौं, तर आर्थिक अभावका कारण भेन्टिलेटरमा राखेर उपचार गराउन सकेनौं अनि लिएर फर्कीऔं’ उनले भने । बुधबार राति ९ बजेतिर सिन्धुली अस्पताल आइपुगेका उनको बिहीबार बिहान मृत्यु भएको छ ।

शव व्यवस्थापनमा अवरोध

मृत्युपछि उनको शव कमलामाई नगरपालिका ५, ६ र ७ को संगमस्थल गडौली घाटमा गर्ने तयाारी गरिएको थियो । तर स्थानीयले शव व्यवस्थापनमा अवरोध गरेका छन् ।

कमलामाई वडा नम्बर ५ का वडाध्यक्ष पूर्णबहादुर खड्का भन्छन्, ‘गडौली घाटमा नगरपालिकाको डोजरले शव गाड्न खाल्डो खनिसकेको थियो । तर कोरोना संक्रमितको शव ल्याउँदैछ भन्ने थाहा पाएपछि ठूलो संख्यामा आएका स्थानीयले शव व्यवस्थापन गर्न नदिने भन्दै प्रदर्शन गर्ने काम भयो ।’

कोरोना संक्रमण फैलने भन्दै स्थानीयले विरोध गरेपछि संक्रमितको शवलाई कमलामाई नगरपालिका–५ स्थित ढाक्रेबास खोलामा लगेर व्यवस्थापन गरिएको छ ।

वडाध्यक्ष खड्काले भने, ‘गडौली घाटमा लगेर शव व्यवस्थापन गर्न विहानैदेखि प्रयास गर्‍यौं । तर संक्रमण फैलन्छ भन्दै स्थानीय प्रदर्शनमै उत्रिए । लामो समयसम्म अनावश्यक विवाद गर्नु भन्दा ढाक्रेबास खोलामा लगेर शव व्यवस्थापन गरेका हौं ।’

स्थानीय प्रशासन र जनप्रतिनिधिको सहमतिमा ढाक्रेबास खोलामा लगेर शव व्यवस्थापन गरिएको उनले बताए । वडाध्यक्ष खड्काले भने, ‘संकट व्यवस्थापन केन्द्रको बैठकले वडा नम्बर–९ भिमानको चुरे वन क्षेत्रमा संक्रमितको शव व्यवस्थापन गर्ने निर्णय भएको थियो । तर, त्यहाँपनि अवरोध भएपछि पुरानो आर्यघाटको रुपमा रहेको गाडौंलीमा शव व्यवस्थापन गर्न खोजिएको हो ।’

सिन्धुलिमै कोरोना संक्रमणबाट मृत्यु भएकी कमलामाई नगरपालिका–६ की ८४ वर्षीया वृद्धाको शव भने वडा नम्बर –७ स्थित बुकाखोलामा व्यवस्थापन गरिएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार १५:३१

प्रतिक्रिया दिनुहोस्