धरान-चतरा लोकमार्ग निर्माण मुआब्जा र डाइभर्सनको कारण अबरोध

राष्ट्रिय गौरवको आयोजनामा समेटिएको हेटौँडा–धरान–चतरा (मदन भण्डारी) लोकमार्गको निर्माण रोकिएको छ । जग्गाको मुआब्जा विवादका कारण निर्माण रोकिएको हो । निर्माण रोकिएसँगै तोकिएको समयमै आयोजना पूरा हुने सम्भावना टरेको छ । 

मदन भण्डारी लोकमार्ग हेटौँडा आयोजना कार्यालयका अनुसार यो सडक चालू आर्थिक वर्ष ०७७/७८ को फागुनभित्र निर्माण सम्पन्न हुनुपर्ने हो । मुआब्जा विवाद नटुंगिएको तथा स्थानीयले अवरोध गरेकाले निर्माण कार्य अघि बढ्न नसकेको कार्यालयले जनाएको छ ।

लोकमार्गको पश्चिमी क्षेत्र मकवानपुर–सिन्धुलीको एक सय १५ किलोमिटर सडकमध्ये सिन्धुलीतर्फ ६ किलोमिटर डाइभर्सन गर्नुपर्ने भन्दै स्थानीयले अवरोध गरेका छन् भने मकवानपुरतर्फ तीन दशमलव दुई किलोमिटरमा मुआब्जा विवाद छ । मुख्यगरी यही दुई कारणले हाल निर्माण रोकिएको आयोजनाका सूचना अधिकारी गागल भण्डारीले बताए । 

सूचना अधिकारी भण्डारीका अनुसार सिन्धुलीको खट्टार बजारमा ६ किलोमिटर बजार छलेर डाइभर्सन गर्नुपर्ने विवाद सुल्झिएको छैन भने उता हेटौँडा–६ स्थित चिसापानी–चौघडा क्षेत्रमा तीन दशमलव दुई किलोमिटर क्षेत्रमा मुआब्जा विवाद छ । यसैगरी, मकवानपुरकै बकैया गाउँपालिका–४ स्थित जुरेली बजारमा दुई सय मिटर क्षेत्रमा मुआब्जा विवाद छ ।

खट्टार बजारको डाइभर्सनका लागि प्रक्रिया अघि बढे पनि निर्माण रोकिनुको मुख्य कारण मुआब्जा विवाद रहेको सूचना अधिकारी भण्डारीको भनाइ छ । ‘सडकको मापदण्डभित्रै घर भएकाले पनि मुआब्जा माग गर्दै अदालतमा मुद्दा दायर गरेका छन्,’ भण्डारीले भने, ‘यसकारण पनि लामो समय निर्माण रोकिएको हो ।’

लोकमार्गअन्तर्गत एक सय दश किलोमिटर सडक कालोपत्रे भइसकेको छ । त्यसबाहेक दश किलोमिटर क्षेत्र विवादित बनेको हो । आयोजनाका अनुसार समयमै मुआब्जा विवाद मिलाउन नसक्दा र स्थानीयले अवरोध गर्दा आगामी फागुनभित्रै सम्पन्न हुनुपर्ने सडक निर्माण रोकिएको छ । 

४० मध्ये ३२ पुल बने 
लोकमार्गको हेटौँडा–सिन्धुली खण्डमा निर्माण हुने ४० वटा पुलमध्ये ३२ वटा निर्माण भइसकेका छन् । पुरानो ठेक्का सम्झौताको दुई र नयाँ सम्झौता गरिएको चारवटा गरी ६ वटा पुल निर्माण हुन बाँकी छ । विवादित क्षेत्रको १० किलोमिटर सडक र बाँकी पुल निर्माण भएपछि लोकमार्गको हेटौँडा–सिन्धुलीखण्ड पूरा हुनेछ । हेटौँडा र सिन्धुलीको भिमानसम्म एक सय १५ किलोमिटर सडकखण्डभित्र ६ सय ८० घरटहराको क्षतिपूर्ति दिनुपर्ने सडक आयोजनाको तथ्यांक छ । 

ठेक्का तोड्न पटक–पटक आग्रह
मुआब्जा र डाइभर्सन विवादका कारण समयमै लोकमार्गको हेटौंडा–सिन्धुली खण्ड पूरा नहुने भएपछि निर्माणको जिम्मा पाएको कालिका–स्वच्छन्द–रान्केन जेभीले ठेक्का तोड्न आग्रह गरेको छ ।

आफूले समयमै काम सम्पन्न गर्ने गरी तीव्र गतिमा निर्माण अघि बढाएको, तर मुआब्जा र डाइभर्सनको विवादका कारण समयमा सम्पन्न नहुने अवस्था बनेको निर्माण कम्पनीको दाबी छ । आयोजनाबाटै प्रक्रिया पूरा गर्न ढिला भएका कारण ठेक्का तोड्न आग्रह गरिएको ठेकदार पक्षको भनाइ छ । 

आयोजनालाई पटक–पटक पत्राचार गर्दै सहमतिअनुसार काम गर्ने वातावरण बनाइदिन आग्रह गरे पनि सुनुवाइ भएको छैन । जसकारण ठेकेदार पक्षले थपिएको समयमा पनि काम सम्पन्न नहुने भन्दै ठेक्का तोड्नका लागि आयोजनालाई आग्रह गरिरहेको आयोजनाका सूचना अधिकारी गागल भण्डारीले बताए । तीन वर्षभित्र निर्माण सक्ने गरी कात्तिक ०७३ मा ६ अर्ब ३० करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार १३:३२

प्रतिक्रिया दिनुहोस्