विपि राजमार्ग: नव निर्वाण बिल्डर्सलाई सडक बिभागको कारबाही तयारी

सिन्धुली  : विपि राजमार्ग अन्तर्गतको सूर्यविनायक-धुलिखेल-सिन्धुली-बर्दिबास सडकमा खाल्डाखुल्डी पुर्ने जिम्मा लिएको नव निर्वाण बिल्डर्सलाई सडक विभागले कारबाही गर्ने तयारी गरेको छ ।

कम्पनीले यो क्षेत्रको सडकमा खाल्डाखुल्डी पुर्ने ठेक्का लिएको थियो । ठेक्का लिएको करिब दुई महिनामा काम सम्पन्न गर्नुपर्ने थियो । तर काम सक्ने मितिको तीन महिना बितिसक्दा पनि काम नगरेपछि विभागले स्पष्टीकरण मागेको छ ।

भदौ १० मा बर्दीबास-सिन्धुली खण्ड, धुलिखेल-सिन्धुली-बर्दीबास सडक खण्ड र खुर्कोट-नेपालथोक खण्डमा खाल्डाखुल्डी पुर्ने कम्पनीसँग सम्झौता भएको थियो ।

सम्झौता भएको मितिले असोज ३० सम्म काम सम्पन्न गरिसक्नुपर्ने थियो । विभागले पटक-पटक लिखित पत्र तथा मौखिक निर्देशनमार्फत आग्रह गर्दा समेत कम्पनीले लामो समयसम्म निर्माण सम्पन्न गर्न कुनै चासो नदिएको विभागले जानकारी दिएको छ ।

विभागले सूचना जारी गर्दै भनेको छ, ‘निर्माण व्यवसायीसँग भएको ठेक्का सम्झौता किन नतोड्ने ?’ ठेक्का नतोड्नुपर्ने कुनै मनासिव कारण भएमा सात दिनभित्र स्पष्टीकरण दिन कम्पनीलाई विभागले अल्टिमेटम् समेत दिएको छ ।

तोकिएको समयमा स्पष्टीकरण नआएमा विभागले ठेक्का तोड्न सक्ने कानुनी प्रावधान छ । ठेक्का तोडिएपछि विभागले सार्वजनिक खरिद अनुगमन कार्यलयलाई कालोसूचीमा राख्न सिफारिस गर्नेछ । कालोसूचीमा राखिएको कम्पनीलाई १ वर्ष कुनै पनि सरकारी ठेक्का भाग लिनबाट बञ्चित राखिने कानुनी व्यवस्था छ ।      

प्रकाशित मिति : १९ पुष २०७७, आईतवार १८:४३

प्रतिक्रिया दिनुहोस्