डोको बेचेरै पुगिरहेको थियो अहिले त जुनार पनि बेच्छु- आले बा !

सिन्धुली – गोलन्जोर- ४ तिनकन्याका ६५ वर्षीय लालबहादुर आले आफू जान्ने भएदेखि अहिलेसम्म डोको बुनेरै बिताएको बताउँछन् । जीवनका अनेकौं घामपानी भोगेका आले अहिले डाँडामाथिको घामजस्तै भएका छन् । कति बेला अस्ताउने हो पत्तै छैन ।

तर, उनलाइ सजिलो छ दिनको २ वटा डोका घरमै बसेर तयार पार्छन तर उनलाई डोको बोकेर बेच्नको लागी बजार धाइरहनु पर्दैन । तयार पारेको डोको किन्न उनको घरमै ग्राहक आइपुग्छन । उनी दैनिक ६०० मा डोको घरैबाट बिक्रि गर्छन ।

आलेले एउटा डोकोको २५० देखि ३०० रुपैयाँसम्ममा बिक्री गर्छन् । ‘अहिले पहिलेको जस्तो डोकाको बिक्री छैन, त्यहिपनी घरमै ग्राहकहरु खोज्न आउँछन, ‘आलेले भने, ‘अहिले डोको मात्रै होइन आफ्नो बारिमा १५० बोट जुनार छन, ‘लटरम्म जुनार फलेका छन बार्षिक जुनार बेचेरै ५/७ लाख आम्दानी गर्छु ।’

उनले आफ्नो हातमा सीप र काम गर्न सक्ने अवस्था रहुन्जेलसम्म ढोको बुनेरै पनि जीविका चलाउन सकिने बताए । ‘अहिलेसम्म यसैगरि जीविका चलाइरहेको छु, अब कति नै बाँचुला र ? बाँचुन्जेलसम्म जीउ सन्चै भयो भने डोको बुनेरै भएपनी गुजारा चलाउँछु’ आलेले भने ।

घामपानीमा निस्कन नपर्ने, बुढेसकालमा दिन बिताउने बाटो पनि यही डोको बुन्ने पेसा बनेको आलेको भनाइ छ । डोको बुनेर आएको पैसाले दैनिक घरखर्च चलाउने र औषधि उपचारमा खर्च गर्ने उनले बताए । ग्रामीण क्षेत्रमा डोको बुन्ने जनशक्ति नहुँदा बुनेका डोका गाउँगाउँसम्म पुर्‍याउन सक्ने हो भने बिक्रीको कुनै समस्या नहुने उनको भनाइ छ । 

प्रकाशित मिति : २७ पुष २०७७, सोमबार २०:१५

प्रतिक्रिया दिनुहोस्