गाउँपालिकाले मनपरी सडक रुट फेरेको भन्दै स्थानिय आन्दोलित

सिन्धुली । सुनकोशी गाउँपालिकामा सोमबार स्वतन्त्र नागरिक समाजले गाउँपालिका घेराउ तथा ढुंगामुडा गरेका छन । गाउँपालिकाको वडा नं. २, ४, ५ र ७ का स्थानीय बासिन्दाले स्वतन्त्र नागरिक समाज गठन गर्दै सडक निर्माण कार्य तत्काल सुरु गर्न माग गर्दै गाउँपालिका घेराउ तथा नारावाजी गर्दै प्रदर्शनमा उत्रिएका हुन ।

नबगठित नागरिक समाजले सिन्धुलीगढी- नागी- मतनवास- बन्दीपुर- काफ्लेचौर- नेत्रकाली र तालढुंगा ग्रामीण कृषि सडक निर्माणको काम ढिला भएको र उक्त सडकको (ख) खण्डको रुट परिवर्तन गरिएको भन्दै विरोध जनाएका हुन । प्रदर्शनमा उत्रिएका प्रदर्शनकारिले गाउँपालिकाको दिनभर कामकारबाही प्रभावित पारेका हुन ।

स्थानिय नागरिकलाई थाहा नै नदिई गरिएको डिपिआर खारेज गर्न र नागरिकलाई पायक पर्ने गरि सडक आयोजना निर्माण गर्न गाउँपालिकामा उनीहरुले माग गरेका छन ।

नागरिक समाजका अगुवाका अनुसार पुस १८ गते १५ दिने अल्टिमेटम सहित गाउँपालिकामा ज्ञापनपत्र बुझाइएको थियो । उक्त ज्ञापनपत्रसमेतलाइ बेवास्ता गर्दै गाउँपालिका आफ्नो सुरमा लागेकोप्रती बिरोध जनाउदै स्थानियहरु आन्दोलनमा उत्रिएको स्थानिय मिक्पर लामाले बताए ।

कानुनी परामर्श समिति, संघर्ष समिति र आर्थिक समिति समेत गठन गरि सडकको रुट परिवर्तनको विरोधमा आन्दोलनमा उत्रिएका छौ लामाले भने सिमित व्यक्ति र पदको स्वार्थमा सडकको रुट परिबर्तन गर्न हामी दिदैनौ ।

स्थानीय जनताको माग सुनुवाई नभएको र स्थानीय सरकारको मिलेमतोमा रुट परिवर्तन भएको भन्दै नागरिक समाजले आक्रोस व्यक्त गरेका छन । उनीहरुले सिन्धुलीगढी, नागी, मतनवास, बन्दीपुर, काफ्लेचौर, नेत्रकाली, तालढुंगासम्म सडक निर्माण हुनुपर्नेमा स्थानीयलाई जानकारी नै नदिई सडक नागी मझुवा गौंखर्क, अमारे, मुलकोट हुदै दुम्जा लान थालेकोमा विरोध जनाएका हुन ।

भौतिक पूर्वाधार विकास कार्यालय रामेछापले हेर्ने गरि वागमति प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा निर्माण हुन थालेको सडकमा स्थानीयहरु असन्तुष्ट देखिएपछि गाउँपालिकाले संघर्ष समितिसँग सोमबार नै छलफल गरेको छ ।

उपयुक्त समय मिलाएर भौतिक पूर्वाधार विकास मन्त्री समक्ष गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा नं. २, ४, ५ र ७ का वडाअध्यक्षहरु तथा स्थानीयहरु सम्मिलित टोलीले डेलिगेशन जाने र डिपिआर बनाउन छलफल गर्ने सहमति भएपछि संघर्ष समितिले आन्दोलन स्थगित गरेको छ । यसअघि स्थानीयले वडा नं. ७ को वडा कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलवार ०९:३८

प्रतिक्रिया दिनुहोस्