‘ह्याप्पी भ्यालेन्टाइन डे’ डियर एक्स

गङ्गाराम गौतम । आकाशमा रहेका नौ लाख ताराहरूको भीडमा जून भएजस्तै यस पृथ्वीमा रहेका अर्बौं मान्छेहरूको भीडमा तिमी मात्र मेरो लागि खास छ्यौ। यस धर्तीको मनोरम बगैंचामा फुलेकी सुन्दर फूल तिमी, अनि तिमीसँग लगाएको मेरो मिठो प्रेम।

प्रेम शब्द आफैमा यति मिठो र मधुर छ भने अझ मैले तिमीसँग लगाएको त्यो प्रेम! शीतलता, शालिनता, शक्ति, मनोभाव, शान्ति, ऊर्जा अरु के-के छ के-के। मेरो मस्तिष्कलाई तरङ्गित बनाउने एउटा सकरात्मक भावना अनि सधैँभरि तिम्रो न्यानो साथ पाउने एक त्यान्द्रो आशा।

हुन त प्रिया, प्रियता, प्यारी, गुडिया, माया जस्ता शब्दहरूले तिमीलाई सम्बोधन गर्ने अधिकार गुमाइसकेको छु। तर आफ्नो प्राणभन्दा पनि प्यारो मान्छेलाई अर्को कुनै नाउँले सम्बोधन गर्ने आँट नै गर्न सकिनँ। पहिलेदेखि भनिआएको प्रिया शब्दले नै सम्बोधन गर्छु, नरिसाउनु है।

प्रिय मान्छे मेरो प्रेमपात्र अनि मेरी प्रिया, भौतिक रुपमा तिमी धेरै टाढा भएपनि मेरो मानसपटलमा त सधै सँगै रहिआएकी छ्यौ नि।

थाहा छैन कोही कसैलाई यति धेरै प्रेम किन गर्छन्! प्रेमले जिन्दगी जिउने बहानाहरूदेखि लिएर चाहानाहरूसम्म अनि हाँस्नदेखि हँसाउनसम्म हरेक प्रेम जीवनको अन्तिम गन्तव्यसम्मको माधुर्यता दिलाउने कोशिश गरेको हुन्छ। आखिरीमा पनि मानिसहरु कसैलाई किन यति धेरै प्रेम गर्दा रहेछन् कुन्नि?

तिमीलाई पहिलो पटक देखेको दिनदेखि होस् वा तिमी र म छुटेपछि नै किन नहोस्, अझ भनौं न, आजसम्म नै तिमी मेरो लागि एकनासले मन परेकी हौ। हत्तेरी! फेरि आफ्नै अतित पो पोख्न थालेछु।

तिम्रो प्रेमको आभास र अनुभूति सधैँभरि मनमा संगालेर राखेको छु मेरी प्रिया। तिमी र म सँगै मिलेर मुस्कुराएका विश्वास र आत्मियताका फूलहरूलाई गाँसेर।

बधाइ छ तिमीलाई, मसँग लगाएको प्रेमको ठूलो दलदले मरुभूमिबाट सजिलै उम्कन सफल भएकोमा। तर म, म त अझै पनि तिमी सँगसँगै भासिएको प्रेमको खाडलबाट निस्कनै सकेको छैन।

म त अझै पनि तिमीलाई आफ्नो बनाउँछु भन्ने एउटा ठूलो भ्रामक कल्पनामा बाँचिरहेको छु। कुनै दिन तिमी फर्केर आउँछ्यौ अनि मेरो यो फिक्का जीवनलाई रंगिन बनाउने छ्यौ। हो, त्यही झुटो आशामा पल पल तिमीलाई कुरेर बसिरहेको छु।

यो मनलाई धेरै पटकसम्म भनिसकेको छु त्यो झुटो आशाको काल्पनिक सपनाहरुलाई पनि देख्न छाडिदे भनेर। तर यो मन पटक्कै मान्न तयार छैन।

ए प्रिय मन, अब त त्यो झुटो आशको भ्रुण नै हत्या गरिदेन। तर प्रिया तिमीलाई लुकाएर राखेको मेरो सानो मनबाट कतै तिम्रा यादहरुलाई मिल्काउने तर्खर गरिरहँदा लाग्दैछ कि आजकाल मन नामको चिज नै छैन मसँग।

तिम्रो उपस्थितिले दिएका ती मिठा यादहरु आज तिमीले छोडेर धेरै टाढा जाँदासम्म पनि मलाई नै पच्छ्याइरहेछन्। खै किन हो कुन्नी! भौतिक रुपमा तिमीबाट टाढा भएपनि तिम्रा ती यादहरु मबाट टाढिनै मान्दैनन्।

म थाकिसकेँ, तिम्रा यादहरुबाट टाढा टाढा भाग्दा भाग्दै। अझै कति भाग्नुपर्ने हो भनिदेऊ न प्रिया।

ओलम्पिकमा भाग लिएको प्रतिस्पर्धी गोल्ड मेडल ल्याउने आशामा भागिरहे झैँ तिम्रा यादहरुले यो सहरमा म पनि भागिरहेछु। त्यो पनि एउटा निश्चित मैदानभित्र नभएर हर सहर हर गल्लीहरुमा। केवल तिमीबाट लागेको याद नामको झुटो भ्रामक लतलाई मिल्काउने प्रयासमा।

ती तिमीले दिएका प्रेमका यादहरुले कहिलेसम्म भौतारिन्छु त थाहा छैन तर जुन दिन तिमीलाई याद गर्न छाड्छु नि, सम्झनु त्यही दिन नै मेरो अन्तिम दिन हुनेछ यस पृथ्वीमा।

प्रेमले त सधैँ आनन्द पैदा गर्ने होइन र? फेरि किन तिमी र मबीचको त्यो सम्बन्धलाई समाजले पनि संकुचित रुपमा लियो अनि हाम्रो परिवारले एउटा ठूलो अपराधको रुपमा।

राष्ट्रियता, जात, धर्म, सम्प्रदाय, ग्रह/नक्षेत्र यी त देखावटी नाम मात्र हुन प्रेमको बाधक बन्नको लागि। असलियतमा त मानिसहरुले आज पनि हैसियत हेर्दा रहेछन्।

ए म बसेको समाज, जब उनी र म दुवै खुसी हुन्छौँ भन्दा पनि तिमीहरुलाई किन यति विघ्न गाह्रो! जीवन त हामी दुई मिलेर काट्ने पो त, तिमीहरुलाई किन यति धेरै अप्ठ्यारो!

दुवै पढेका थियौँ, हातमा सानो-ठूलो सीप थियो। थोरै कमाएका पनि थियौँ। थोरै नै कमाए पनि खुसीसँग रमाएरै बस्न त सक्थ्यौं नि। हो, हामीसँग सैद्धान्तिक र विश्वविद्यालयको शिक्षा कम थियो होला तर हामी दुवैले एक-आपसलाई राम्ररी बुझेका थियौँ, मिलेका थियौँ, अनि आफ्नो सीप र क्षमता अनुसारको द्रव्य पनि त कमाएका थियौँ नि। फेरि किन यति भद्र भलाद्मी बन्नु परेको नि हाम्रै प्रेममा ए समाज।

हामी दुवैले प्रण गरेका थियौं नि ‘आई एम नट रिच बट आई क्यान गिभ यू लट्स अफ लभ।’ तर खै कहाँ चुक्यौँ हामी दुई।

एउटा सानो खुसीलाई बचाउने प्रयास गरिरहँदा धेरै ठूला खुसीहरुलाई गर्भावस्थामै तुहायौँ नि हामीले प्रिया। बुवा, आमा र यही समाजको डरले हाम्रो प्रेम आज यति नराम्रोसँग लड्यो नि अब त चाहेर पनि उठ्न सक्दैन।

तिमी पराइ घरमा कत्तिको खुसी छौ या छैनौँ, त्यो अर्को कुरा हो तर म त यहाँ…!

रुवायो वा बेचैनी बनायो मायाले नभन्नु प्रिया। नमिल्ने भएर मात्रै हो, तिम्रो नाममा झरेका यादका आँसुहरूलाई प्रमाण बनाएर पार्सल गरी पठाउने थिएँ। याद नामको लत लागेपछिका पीडाहरूलाई पनि मिलाएर तिम्रो नयाँ ठेगानामा।

भनेको नै त थिएँ नि ‘प्रण गर्दछु प्रिया, प्रेमको बोटमा अविश्वासको मल हाल्ने छैन मैले र तिमीले पनि विश्वासको बिरुवामा शंकाको पानी नहाल्नु है।’

तर खै कहाँ चुक्यौँ हामी दुई, न त मैले तिमीलाई अविश्वास नै गरेँ न तिमीले मलाई कतै शंका नै गरेऊ।

धेरै त के नै भन्न बाँकी रह्यो र प्रिया अब! जेसुकै भएपनि मैले तिमीलाई आफ्नो सम्पूर्ण जीवन सम्झेको थिएँ अनि तिमीले पनि त मलाई सम्पूर्ण रुपमा समर्पित गरेकी थियौ नि।

पहिला जुन बाटोमा हिँड्दा खुसी भेटाएको थिएँ नि। हो, आज त्यही बाटोमा खुसी हराएर खोजिरहेछु प्रिया।

केही त खास जरुर थियौ नि प्रिया तिमी, नभए मबाट त्यति टाढा जाँदासम्म पनि हाम्रो प्रेम रहिरहन कसरी सम्भव त! तिमीले मेरो जीवनबाट खुसी नामको ताल्चा लिएर गएदेखि मेरो हातमा त्यही ताल्चामा मात्र मिल्ने चाबी छ प्रिया।

विगतलाई भुल्न त के बदल्न पनि त सकिदैन। थाहा छ तर वर्तमान र भविष्यलाई सुधार्ने कोशिश गरिरहेछु मैले पनि। सफल रहोस् तिम्रो पूरै जिन्दगी प्रिया, कामना गर्दछु अझैसम्म पनि।

कहिले काहीँ हिँड्दा हिँड्दै जीवनको उत्तरार्ध आउँदासम्म होस् वा कुनै न कुनै मोडमा तिमीलाई कुनै साह्रो गाह्रो पर्यो भने हाम्रो त्यही पुरानो अतीतलाई सम्झनु अनि फेरि एकपटक प्रेम गर्ने अवसर दिनु है। तिमीलाई असिम प्यारभरा ताजमहल उपहार दिनेछु मेरी प्रिया।

माफ गरिदेऊ प्रिया, मबाट टाढा भएपछि तिमीले यादहरु भुलिसकेको बेलामा एउटा रोएको मलिन अनुहारलाई पढ्नु पर्दा। तर विवश छु प्रिया, यस जन्ममा त तिमीलाई मेरी बनाउन सकिनँ। यदि पुनर्जन्ममा विश्वास गर्दछ्यौ भने अर्को जुनीमा मेरै लागि बनेर आउनु है।

यस जन्ममा त टुटेको अझ भनौं छुटेको प्रेम गरियो तर प्रण गर्दछु प्रिया, अर्को जन्ममा प्रेमको गहिराइमा पुगेर प्रेमलाई पढेर बुझेर या अझै धेरै भोगेर प्रेमको परिभाषा नै बदलौँला है। यदि पुनर्जन्मको लागि भाग्यले र तिमीसँगको साथको लागि तिमीले मौका दिएयौ भने प्रेमको नयाँ युग सुरुआत गरौँला है।

मेरी उनी।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आईतवार ११:४६

प्रतिक्रिया दिनुहोस्