केपी ओलीलाई मधेस पस्न रोकेपनी पानी नरोक्नुहोला- प्रधानमन्त्री ओली

सिन्धुली – प्रधानमन्त्री केपी ओलीले केही मानिसहरूले आफूलाई मधेसविरोधी भने पनि मधेसका खेतमा पानी पसाउने कामको शुभारम्भ आफूले गरेको बताए । 

सुनकोशी-मरिन डाइभर्सनको बिहीबार सिन्धुलीमा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘केपी ओली मधेस नपसे पनि खेतमा पानी चाहिँ केपी ओलीले पसाउँछ ।’ 

उनले प्रदेश – २ का मुख्यमन्त्री लालबाबु राउतलाई तराई-मधेसमा त्यो खबर लैजान अनुरोध गरे । ‘मलाई तराई-मधेसमा पस्न नदिए हुन्छ । तर, पानी चाहिँ नरोक्नुहोला, ‘उनले भने। 

सुनकोशी-मरिन डाइभर्सनलाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । उक्त डाइभर्सनबाट प्रदेश -२ का जिल्लामा एक लाख ८५ हजार बिगाहा सिँचाइ गर्ने योजना रहेको उनले बताए ।

त्यस्तै, डाइभर्सनको पहिलो बिन्दुबाट ३१ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको उनले बताए । ‘मलाई तराई छिर्न हतारो छैन । सुनकोशी-कमला डाइभर्सनबाट अर्को १ लाख ७० हजार बिगाहा थप सिँचाइ भएपछि मेरो स्वागत गर्न राजनीतिक पार्टी चाहिँदैन । जनताले आफैं गेट बनाउँछन्, ‘उनले भने ।   

प्रधानमन्त्री ओलीले देश विकासको बाटोमा गएको बताए । उनले अब जनताको सुरक्षा गर्ने योजना सरकारले ल्याएको र विकास आयोजनाको काम अघि बढाएको बताए । प्रधानमन्त्री ओलिले अब अप्टिकल फाइबर बिछ्याएर देशैभरि फोरजी सेवा पुर्‍याउने बताए ।

‘अड्डा अदालत गइरहनुपर्दैन, मोबाइल एप्सबाटै काम हुन्छ, तपाईं ढुक्क हुनुहोस् देश विकासको बाटोमा अघि बढ्यो ।’उनले विकासको गतिमा हिँड्दा बीच-बीचमा प्रहार हुने गरेको बताए । 

‘हामीले हुर्काएको बिरुवा कहिले हावा आएर भाँच्छ । पहिरोले पर्खाल भत्काउँछ । स्वर्गतिर हिँड्दा युधिष्ठिरहरू ढलेजस्तो कुरा हैन एउटा ढले १०, १० ढले १०० र १०० ढले हजारौं निस्किन्छौं,’ उनले भने। 

ओलीले गायक जीवन शर्मालाई सम्झिदै उनले गाएको गीत ‘पिलो निचोरिँदैमा वजन घट्दैन’ भन्ने गीत सम्झाए ।  ‘पिलोहरू निचरिएर उछिट्टिएर जान्छन्, केही फरक पर्दैन,’ ओलीले भने।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार १५:२३

प्रतिक्रिया दिनुहोस्