स्व.नरबहादुर बम्जन स्मृतिकप फुटबलको उपाधि नमोबुद्धलाई

सिन्धुली — स्व. नरबहादुर बम्जन स्मृति कप फुटबल प्रतियोगिताको उपाधि नमोबुद्ध युवा क्लब मरिणले जितेको छ । शनिबार सिन्धुलिमाढिमा भएको फाइनल खेलमा अमरज्योति युवा क्लब गोलन्जोरलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेको हो । 

उपाधिसँगै नमोबुद्ध युवा क्लब मरिणले नगद २ लाख १० हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । निर्धारित समयमा गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

नमोबुद्ध युवा क्लबका अनिल थापामगरले उत्कृष्ट गोलरक्षक बन्दै ५ हजार नगद पुरस्कार समेत पाए । प्रतियोगितामा ५ गोल गरेका भिमान क्लबका रितिकले सर्वाधिक गोलकर्ता खेलाडीको पुरस्कार पाए ।

उत्कृष्ट डिफेन्डरमा नमोबुद्ध युवा क्लबका गौरव श्रेष्ठ ठहरिए । खेल र खेलाडिको लागि यो प्रतियोगिता महत्वपूर्ण रहेको र खेलमा अनुशासित ढंगले खेलाडि प्रस्तुत भएको नमोबुद्ध युवा क्लब मरिण गाउँपालिका ७ देउजोरका संस्थापक सल्लाहकार उत्तरकुमार वाइबाले बताउनुभयो ।

फाइनल खेलमा उपविजेता बनेको अमरज्योति युवा क्लब गोलन्जोरले एक लाख नगद सहित पुरस्कार पाएको छ ।अखिल नेपाल राष्ट्रिय फुटबल संघ (एन्फा)का केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पाको प्रमुख आतिथ्यतामा आयोजक संस्था ब्लु अल्पाइन क्लबका अध्यक्ष सुरेश थापामगरको अध्यक्षतामा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितालाइ आगामी बर्षहरुमा समेत निरन्तरता दिन एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताउनुभयो । जिल्लाको खेलक्षेत्रको बिकासको लागि एन्फाले बिगतमा समेत सहयोग गरिरहेको र आउने दिनमा पनि सहयोग गर्ने शेर्पाले बताउनुभयो ।

स्व. नरबहादुर बम्जन स्मृतिकप फुटबल प्रतियोगितामा जिल्लाभरका ३० टिमले सहभागी जनाएका थिए । स्व. नरबहादुर बम्जनको स्मृतिमा पहिलो पटक फुटबल प्रतियोगिताको आयोजना गरिएको हो ।

स्व. बम्जनका छोरा छेत्र बम्जन, ङेमा बम्जन र बिष्णु बम्जन तथा समस्त बम्जन परिवारको तर्फबाट रु ६ लाख सहयोग र अन्य सुबास वाइबा लगायत विभिन्न संघसंस्थाको सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो ।

१९९५ चैत ३ गते जन्मिनु भएका नरबहादुर बम्जनको २०६७ पौष ४ गते मृत्यु भएको थियो । ब्रिटिश आर्मीमा जागिरे जीवन ब्यतित गरेका स्व. बम्जन जागिर पश्चात् सामाजिक सेवामा क्रियाशिल हुनुहुन्थ्यो । स्व. बम्जनको तीन छोरा र पाँच छोरी छन ।

स्व. नरबहादुर बम्जनको स्मृतिमा पहिलोपटक आयोजना गरिएको फुटबल प्रतियोगितालाइ आगामी बर्षहरुमा पनि निरन्तरता दिने समाजसेबी तथा निर्माण ब्यबसायी छेत्रबहादुर बम्जनले बताउनुभयो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आईतवार ११:३४

प्रतिक्रिया दिनुहोस्