महिला उद्धमीलाई सम्मान गर्दै कनपा ५ ले महिला दिवस मनायो

सिन्धुली – अन्तर्राष्ट्रिय महिला दिवस आज सिन्धुलिमा विविध कार्यक्रम गरी मनाइएको छ । “महिलाकाे सुरक्षा, सम्मान र राेजगार : समृद्व नेपालकाे आधार” भन्ने नाराका साथ दिवस मनाइएको हो ।

कमलामाई नगरपालिकाले १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा १४ जना एकल तथा अतिविपन्न महिलालाई सम्मान गरेको छ । उनीहरुलाई व्यवसाय प्रवद्र्धनका लागि २० हजार नगद अनुदान सहित कदर पत्रद्वारा सम्मान गरिएको हो ।

वडा समितिले छानेका त्यसमा पनि निरन्तर व्यवसाय गरिरहेका र आर्थिक हिसावले अतिविपन्न महिलालाई सम्मान गरिएको छ ।

नगरपालिकाको सबै वडामा वडा कार्यालयको आयोजनामा विभिन्न कार्यक्रम गरि महिला दिवस मनाइएको हो । उक्त वडामा स्थानीय संघसंस्था, समूह, सहकारी, किशोरी समूह, बालक्लव लगाएतसँगको समन्वयमा कार्यक्रमहरु गरिएको कमलामाई नगरपालिका सिन्धुलीले जनाएको छ ।

यसैबीच कमलामाई नगरपालिका ५ ले हिंसा पीडित, एकल महिला तथा कालिका फाईवर झोला उद्योगकी सञ्चालक सृजना श्रेष्ठलाई सम्मान गरेको छ ।

वडा-अध्यक्ष पुर्णबहादुर खड्काको अध्यक्षतामा महिला नेतृ उमा कोईरालाको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम सपन्न भएको हो ।

वडा कार्यालयले दिवसको अबसरमा एकल महिला तथा कालिका फाइवर झाेला पसल मधुटारकी उद्धमी श्रृजना श्रेष्ठलाइ व्यवसाय संचालनका लागि अनुदान स्वरुप रु. २० हजार नगद सहित कदरपत्रद्वारा सम्मान गरेको छ ।

सम्मान समारोहमा बोल्दै कार्यक्रमको प्रमुख अतिथी उमा कोइरालाले ‘सामाजिक पहिचानको प्रतिनिधित्व हुनेगरी निर्णायक तहमा महिलाको सहभागिता हुन आवश्यक रहेको बताउनुभयो । उहाँले समाजमा जति संस्कृति, आर्थिक तथा राजनीतिक समूह छन्, त्यसमा महिलाको न्यायोचित प्रतिनिधित्व हुनुपर्ने उल्लेख गर्नुभयो ।

सभाअध्यक्ष तथा कमलामाइ नगरपालिका ५ का अध्यक्ष पुर्णबहादुर खड्काले विश्वका महिला कुनै पनि गाली, निन्दा, हिंसा र विभेदरहित किसिमले शान्तिपूर्ण भविष्य तथा समान अवसरको बाटो खोजिरहेको उल्लेख गर्दै यसका लागि निर्णयका हरेक टेबुलमा महिलाको उपस्थिति हुनु आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष खड्काले कोरोना महामारीले विश्वका महिला तथा किशोरी बढी प्रभावित रहेको जनाउदै सार्वजनिक जीवन र निर्णयकर्ताका रुपमा महिला नरहेकै कारण महामारीका बेला उनीहरू बढी विभेद र समस्यामा परेको उल्लेख गर्नुभयो ।

कार्यक्रमको सहजीकरण सावित्रा रेग्मीले गर्नुभएको हो भने कार्यक्रममा स्वागत वडा कार्यालयका वडा सचिव उज्वलविक्रम थापाले गर्नुभएको हो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार २१:०७

प्रतिक्रिया दिनुहोस्