सिन्धुलीमा एकैदिन दुई कम्युनिस्ट पार्टिको कार्यालय स्थापना

सिन्धुली – सिन्धुलीमा मंगलबार तत्कालिन नेकपाभित्र रहेको भनिएका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दुवैले छुट्टाछुट्टै आ-आफ्नो कार्यालय स्थापना गरेका छन् ।

विहान नेकपा एमालेले आजाद स्मृति भवनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखेर कार्यालय उद्घाटन गरे भने नेकपा (माओवादी केन्द्र) ले सोही दिन अपराह्न नेकपा (माओवादी केन्द्र) लेखिएको बोर्ड राखेर आ-आफ्नो पार्टीको कार्यालय संचालनका लागि पार्टी कार्यालय उद्घाटन गरेका हुन ।

तत्कालिन अवस्थामा नेकपा एमालेकै रहेको पार्टी कार्यालय माओवादी केन्द्रसँगको पार्टी एकतापछि नेकपाको रहेको थियो । तर सरकारले संसद विघटनको सिफरिस गरेपछि दुई धारमा विभाजन भएको नेकपा दुबैले पार्टी कार्यालयको प्रयोग भने गर्न पाएका थिएनन् ।  

पछिल्लो राजनीतिक घटनाक्रममा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुनः ब्युँताइदिएपछि एमाले पार्टी कार्यालयमा मंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको नाम मेटाएर एमाले राखिएको हो ।

सर्वोच्च अदालतले नेकपालाई पूर्ववतः अवस्थामा नै फर्काइएको फैसला गरेपछि मंगलबार तत्कालीन नेकपा एमालेमा रहेका नेता तथा कार्यकर्ताले नाचगान सहित एक अर्कालाई अविर लगाएर शुभकामना दिँदै पार्टी कार्यालय खुलाइएको नेकपा एमालेका जिल्ला अध्यक्ष प्रदिप कटुवालले बताए ।  

कटुवालले सर्वोच्चको आदेशलाई मानेर नेकपा एमालेमै फर्किएकोमा माधव नेपालसहित उनको टिमलाई धन्यवाद दिदै ‘अब एमाले एकीकृत आन्दोलनको पक्षमा गएको बताए ।’ 

माओवादी केन्द्रले पनि छुट्टै पार्टी कार्यालय स्थापना गरेर सञ्चालन गरेको छ । माओवादी केन्द्रले पुर्व कृषि मन्त्री एवं प्रतिनिधिसभा सदस्य हरिबोल गजुरेलको सम्पर्क कार्यालयलाई पार्टीको जिल्ला सम्पर्क कार्यालयको रुपमा संचालन गर्ने गरी माओवादी केन्द्र लेखेको बोर्ड राखेको हो ।

नयाँ बोर्ड राखेर पार्टी कार्यालयको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज लेखनाथ दाहाल (राजन)ले सर्बोच्च अदालतले राजनितिक पुर्वाग्रह राखेर तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटन गरेर पुर्ववत नेकपा एमाले र माओवादी केन्द्रमा पुर्याइदिएको बताए । 

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलवार १९:५४

प्रतिक्रिया दिनुहोस्