लोक भजन चुट्का सास्कृतिक कार्यक्रम सिन्धुलीमाढीमा हुने

सिन्धुली – नेपालको मौलिक कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि लोक भजन चुट्का सास्कृतिक कार्यक्रम सिन्धुलीमाढीको खुल्लामञ्चमा आउने शनिबार आयोजना हुने भएको छ ।

स्वीकृति इभेट्सको आयोजना तथा राष्ट्रिय लोक भजन चुट्का संस्कृति संरक्षण नेपाल बागमती प्रदेश समितीको ब्यबस्थापन तथा संरक्षणमा उक्त सास्कृतिक कार्यक्रम आयोजना हुन लागिरहेको प्रदेश इन्चार्ज नवीन पौडेलले जानकारी दिनुभयो ।

प्रतिष्ठानका इन्चार्ज पौडेलले नेपालीको संस्कार, संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने लोक भजन तथा चुड्काहरूको संरक्षण र प्रवर्द्धनका लागि उक्त सास्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो ।

धर्म, संस्कार र परम्परालाई बचाउन र संस्कृति संरक्षणका लागि प्रतिष्ठानले आवाज उठाउँदै आएको पौडेलको भनाइ छ । उक्त सास्कृतिक कार्यक्रममा नेपालको ५० वटा भन्दा बढी भजन समुहको आ-आफ्नो मौलिक लोक भजन तथा प्रस्तुती समेत रहने जनाइएको छ ।

नेपालको पुरानो र मौलिक संस्कृतिको रुपमा रहेको भजन तथा चुड्काहरूको संरक्षण गर्दै नयां पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले २०६७ सालमा प्रतिष्ठानको स्थापना गरिएको थियो । विज्ञान जन्माउने वेद हो भने कलाकारिता जन्माउने भजन हो भन्ने मान्यता स्थापित गर्ने उद्देश्य सहित स्थापना गरिएको प्रतिष्ठानले हालसम्म बागमती प्रदेशको एघार वटा जिल्लामा शाखा गठन गरिसकेको पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ असार २०८१, बिहीबार ०५:०२

प्रतिक्रिया दिनुहोस्